नयाँ पत्रिका
काठमाडौं, २१ मंसिर
2008-12-07,Sunday
लगातार ओरालो लागेको पुँजी बजारले यो साता भने केही सकारात्मक गति लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२० अंक उक्लिएर ७५४.९१ अंकमा पुगेको छ ।
७८ कम्पनीको चार हजार ५० वटा सेयर कारोबार भएको छ । कुल ४४ करोड २५ लाख १९ हजार रुपैयाँको चार लाख ४९ हजार १ सय ३ कित्ता सेयर कारोबार भए । गत आइतबारदेखि बिहीबारसम्ममा अघिल्लो साताको सोही अवधिको तुलनामा २५.२९ प्रतिशत कारोबार रकममा वृद्धि भएको छ ।
कुल कारोबारमध्ये क वर्गका कम्पनीहरूको ३४ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सो रकम नेप्सेमा कारोबार भएका सबै कम्पनीको तुलनामा ७७.३० प्रतिशत हो । कारोबार रकमका हिसाबमा सबैभन्दा बढी बैंक अफ काठमाण्डुको सेयर खरिद बिक्री भएका छन् । सो कम्पनीको ८ करोड ८४ लाख रुपैयाँ बराबरको ४३ हजार किक्ता सेयर खरिद बिक्री भएका हुन् । संख्याको हिसाबमा भने अग्रपंक्तिमा प्रभु फाइनान्स रहेको छ । प्रभुको ४ सय २१ वटा कारोबार भएको हो ।
कारोबार रकमका हिसावले बैंक अफ काठमाण्डु, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि छन् । यो साता नारायणी फाइनान्स, अन्नपूर्ण विकास बैंक, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएका छन् भने डिप्रोक्स विकास बैंकको बोनस सेयर पनि सूचीकृत भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment